श्रीमान हुँदाहुँदै परपुरुषसँग लागेर आमाको हत्या गर्ने छोरीलाई जन्मकैद सजाय फैसला

Uncategorized

भक्तपुर, गत असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चारै जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

भक्तपुर जिल्ला अदालतले बिहीबार ईश्वरी भट्टराई, मोहम्मद नौसाद, मोहम्मद रहिश र भोला कुमारलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको हो । चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।

बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई श्रीमानले अर्की श्रीमती बिहे गरेपछि कान्छी छोरीज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ । भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्रायक्ट किलर भाडामा प्रयोग गरेकी थिइन्। छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको थियो।